शिक्षक दरबन्दी नहुदाँ पठन पाठन प्रभावित

२७ माघ २०७४, शनिबार १५:४५
 

सदरलाइन /रुद्र सुवेदी
२७ माघ, नेपालगन्ज : विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी पुरा नहुदाँ बाँकेका सामुदायिक विद्यालयसंगै मदरसाको पठनपाठन प्रभावित हुने गरेको गुनासो आएको छ ।



जानकी गाँउपालिका–१ गनापुरस्थित नेपाल राष्ट्रिय माविमा १० कक्षासम्म अनुमति पाएर कक्षा सञ्चालन भए पनि शिक्षक दरबन्दी नहुदाँ पठन पाठन प्रभावित बनेको विद्यालयका प्रधानाध्यापक अयोध्याप्रसाद यादवले गुनासो गरेका छन् । उनले इन्सेकद्वारा आयोजित विद्यालय र विद्यार्थीको सवालमा विद्यालय परिसर मै आयोजित कार्यक्रममा सो समस्या राखेका हुन् ।
‘एसईई परीक्षाको समय तालिका प्रकाशित भइसक्दा पनि विद्यार्थीहरुको विज्ञान लगायतका विषयको पढाई पुरा हुन नसकेपछि विद्यार्थी मात्र नभई शिक्षकहरु समेत चिन्तामा परेका छन्’–उनले भने–‘विषयत शिक्षक अभाव भए पनि पठन पाठन भइरहेको छ ।’
कक्षा अनुमति लिदा व्यवस्थापन समितिले निजी स्रोतबाट नपुग शिक्षक राख्ने भनिए पनि आर्थिक अभावका कारण विद्यालयले राख्न नसकेको र जिल्ला शिक्षा कार्यालयमा पटक–पटक जाँदा कुनै सुनवाई नभएको यादवले बताए । उनले कार्यालयबाट राहत वा पिसिएफ कोटा पाईन्छ की भनेर धाउदै आएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामफेरन गडरियाले साविकको गनापुर गाविस हालको जानकी गाउपालिकाको सिंगो वडामा एक मात्र माध्यामिक विद्यालय भएकाले पनि यसको सुधारका लागि सबै लाग्नुपर्ने बताउदै स्थानीय जनप्रतिनिधिले यस विषयमा बढि पहल गर्नुपर्ने बताए ।
उनले बाटो र भौतिक पूर्वाधारको लागि मात्रै सबैको ध्यान जाने तर, विद्यालयको पढाईको गुणस्तर बढाउनको लागि आवश्यक र विषयगत शिक्षक पदपूर्तीको लागि जनप्रतिनिधिले चासो नदिएको उनको गुनासो थियो ।
यसैगरी  नेपालगन्ज–११ मा  सञ्चालनमा  रहेको  मदरसा  बरकातिया  माध्यामिक  विद्यालयले  पनि  शिक्षक  अपुग मै माध्यामिक तह सञ्चालन गर्दै आएको सो मदरसाका प्रधानाध्यापक मौलाना जियाउल मूस्तफा नूरानीले जानकारी दिए ।
उनले भने–‘मध्यामिक तहसम्म विद्यालय सञ्चालन गरेका छौ प्रावि तहको ३ वटा राहत कोटाको मात्र दरबन्दी छ । त्यसैको भरमा कक्षा १० सम्म सञ्चालन गरेका छौ । मुस्लिम समुदायले सञ्चालन गरेको माध्यामिक नमुना विद्यालयको रुपमा भएर पनि शिक्षक दरबन्दी अभावको कारण सञ्चालनमा अत्यन्तै कठिनाई भएको छ ।’
उनले मदरसा सञ्चालन भएदेखि एसएलसी होस वा एसईईमा राम्रो नतिजा दिएको भए पनि सम्बन्धित निकायले विद्यालयको विकासमा चासो नदिएको कारणले आफुहरुलाई सञ्चालन मै कठिनाई भएको गुनासो गरे । मदरसा बरकातिया मावि उर्दू अरबी पठनपाठन हुने एकमात्र मध्यामिक विद्यालय हो जाहाँ मुस्लिम समुदायका मात्र बालबालिका अध्ययनरत छन् ।
उनले उर्दू र अरबी कक्षा सञ्चालनको लागि समुदायले नै फितरा जकात (धार्मिक कर) दिएकोले जेनतेन चलाउदै आएको भए पनि राज्यले गुम्बा, गुरुकुल र मदरसा शिक्षा सञ्चालनको ठोस नीति नबनाएको कारणले पनि आफुहरु मर्कामा परको गुनासो गरे । माथिका एक सामुदायिक विद्यालय र एक मदरसा त जिल्लाका विभिन्न विद्यालयमा कक्षा अनुसारको विषयगत शिक्षक अपुग भएको ज्वलन्त उदाहरण हुन ।
यसैबीच जिल्ला शिक्षा कार्यालय बाँकेका सह–जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाले जिल्लाका धेरै विद्यालयमा दरबन्दी अनुसारका शिक्षक नभएको बताए । उनले गत वर्षसम्म विद्यार्थी संख्याको आधारमा पिसिएप कोटामा शिक्षक दरबन्दी दिने गरिए पनि यो वर्षदेखि एकमुस्ट अनुदान दिने नीति आएकोले केही असहज भएको स्वीकारे ।
उनले भने–‘ दरबन्दी अपुग नै छन् । नयाँ महाध्यामिक विद्यालयमा त झनै छदै छैनन् । पहिला राहत र पिसिएफ दिने गरेको थियो । राहत धेरै पहिले नै बन्द भयो पिसिएफ पनि बन्दै गत वर्षदेखि बन्द भएको छ । त्यसको साटो एकमुष्ट अनुदान दिने नीति आएको भए पनि निवेदन संकलन गरिएको छ । वितरण गर्न सकिएको छैन् ।’

Next Post

मिस नेपाल प्रधानमन्त्री कपको सद्भावना दुतमा अनुबन्धित

२७ माघ २०७४, शनिबार १५:४५
सदरलाइनडटकम २७ माघ, नेपालगन्ज : बाँके जिल्ला भलिवल संघको आयोजना हुदै आएको प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिवल प्रतियोगिताले मिस नेपाललाई सद्भावना दुत अनुबन्धित गरेको छ । मिस नेपाल वल्र्ड निकिता चन्दक प्रधानमन्त्री कपको पाँचौं संस्करणमा सद्भावना दुत नियुक्त भएको प्रधानमन्त्री कप आयोजक बाँके जिल्ला भलिबल संघले मिस नेपालको आयोजक हिडेन […]

सम्बन्धित